sunwal

नेपाली राजनिती र वर्तमान युवा

293

समयको चाल सँगै मानवीय भावना ,चाहना र इच्छा पनि परिवर्तन भैरहन्छ। मानसिक सोचाइ र धारणा पनि समयको गतिसँगै विकसित हुने गर्दछ। पुरानो विचार र मान्यतासँग वर्तमान सन्ततिको सोच बिचार हुनुपर्दछ भन्ने पनि छैन।

समयको तत्कालीन गति ,मूल्य र मान्यता संगै विकसित भएका आदरणीय अग्रजहरु समयको गतिसँगै आफुलाई परिवर्तन गर्न सक्नुभएन। समयले परिवर्तन हुन त जान्यो तर यसको परिवर्तनसँगै आफूलाई परिवर्तन गर्न उहाँहरु ले सक्नुभएन। बीसौं शताब्दीका मूल्य मान्यतासँग खेलेका अग्रजहरुले एक्काइसौं शताब्दी सँग खेल्ने र घुलमिल हुने अनि जनचाहना अनुसार क्षमता विकास गर्न सक्नुभएन। मेरो पालामा भन्ने मान्यता बोकेका अग्रजहरुले तिमिहरूको जमानामा यस्तो भनेर बुझ्न सक्नु भएन। आफ्नै बुझाइ र सोचाइ लाध्न खोज्ने आडम्बरी खालका नेतृत्वलाई, परिवर्तित समयका युवाहरु तथा युवा नेतृत्व र जमातले स्वीकार गर्न सकेन । स्वतन्त्र रहेको मानव समाज र यसका स्वतन्त्र यात्रीहरुले लादिएको परम्परागत विचार स्वीकार गर्न बाध्य रहेनन्। फलस्वरुप आज का युवाहरु पुराना आडम्बरी विचार र सिद्धान्त बोकेका नेतृत्वबाट भन्दा नयाँ जोश र विचार बोकेका पुस्ताबाट मात्र आफ्नो भविष्य र सुनिश्चिता देख्न बाध्य भए। यसैको परिणामस्वरुप स्थानीय निर्वाचनमा युवा तथा स्वतन्त्र समूहको विजयी प्रतिबिम्बित हुन पुग्यो।

समय गतिशील छ ,यो निरन्तर चलिरहेको छ। हिजो, आज र भोलि समान रहन सक्दैन। यो प्रतिपल परिवर्तन गर्दै अगाडि बढिरहेको छ। भनिन्छ नि “Time and Tide waits for no man” त्य्सैगरी विना विभेद समय अगाडि बढिरहेको छ। गतिशील परिवर्तनसँगै हामी परिवर्तन हुन आवश्यक छ, हामीले व्यवस्थालाई परिवर्तन त गर्यौ तर पात्र परिवर्तन गर्न सकेनौं । उहीँ 70/80 वर्षे आडम्बरी विचारहरु बोकी नेतृत्व गर्ने पुराना जमातहरु लाई विश्वास गर्दै उनीहरुबाट परिवर्तनको आशा गरीराख्यौं तर कुनै किसिमको परिवर्तन उहाँहरूबाट हुन सकेन ।

समयसँगै परिवर्तन हुनुपर्ने समाज परिवर्तन हुन सकेन ।आज नभए भोलि पक्कै परिवर्तन हुन्छ कि भन्नेहरु आशा गर्दागर्दै निराश भई सके।

 

समयसँगै वर्षौं पुराना सोच र विचार लिएर बदलिँदो व्यवस्थामा आडम्बरी पात्रहरुले रजाई गरिरहँदा ,समयसँगै परिवर्तन हुनुपर्ने समाज परिवर्तन हुन सकेन ।आज नभए भोलि पक्कै परिवर्तन हुन्छ कि भन्नेहरु आशा गर्दागर्दै निराश भई सके। परिवर्तनको पर्खाईमा रहेका जनमानसमा सहन सक्ने क्षमताको सिमा नाघिसक्दा पनि आडम्बरी नेतृत्वले न त कहिल्यै समयलाई बुझ्न सक्यो ,न त परिवर्तनलाई स्वीकार गरी आफूलाई रूपान्तरण गर्न सक्यो । फलस्वरुप विस्फोटक भै आफ्नो विचारको अस्तित्वको खोजी गर्नुपर्ने बाध्यता युवाहरुले गर्न बाध्य भए, जसको परिणाम बिस्तारै-बिस्तारै नेपाली समाज र राजनीतिमा देखिँदै छ।
अति गर्नु तर अत्यचार नगर्नु भनेझैँ परिवर्तनको आशमा युगौ बिताएका जनमानसमा क्रान्तिकारी विचारले ठाउँ लिनु कुनै अनौठो रहेन। दुब्ला पातला नेतृत्वले आफूलाई परिपर्तन गर्दै मोटाउने काम त गर्न सके, आफ्नो स्वार्थपुर्ती गर्न परिवर्तन त गरे तर इमान्दारिता , नैतिकता र सिद्धान्तलाई तिलाञ्जली गर्दै पदिय स्वार्थकालागि आफ्नो निति तथा सिद्धान्तलाई पनि परिवर्तिन गरे तर विचार र कार्यशैलीमा परिवर्तन गर्न सकेनन् । आदर्शवादी मूल्यमान्यतालाई भाषणमा व्यक्त गरे तर व्यवहारमा भने कतै पनि लागू गर्न सकेन। आफूलाई गीताको अर्ति दिने कृष्ण त माने तर कर्तव्य पालना कसरी गर्नुपर्दछ भन्ने भूमिका देखाउन सकेन । आफूलाई परिवर्तनको रुपमा अर्जुन त ठाने तर अर्जुनको रुपमा कर्तव्य गर्नुपर्दछ भन्ने कहिल्यै ठानेनन । शाब्दिक रुपमा मिठो ढाडस दिदै हिडे तर कर्म गर्न कहिल्यै अग्रसर भएनन् ,फलस्वरूप समाजको आवश्यकता, समयको माग र युवाहरूको अग्रता मा समाजले पुराना विचारहरूको विसर्जन गर्दै नयाँ युगको सिर्जना गर्नको लागि नयाँ कृष्णको आवश्यकता महसुस आजका युवाले गर्न बाध्य भए।

आफूलाई परिवर्तनको रुपमा अर्जुन त ठाने तर अर्जुनको रुपमा कर्तव्य गर्नुपर्दछ भन्ने कहिल्यै ठानेनन ।

 

कम्सरुपी अहंकारी, दुष्ट अनि आडम्बरी हरु को पतन नभइकन नयाँयुगको सम्भावना नहुने महसुस गर्दै, एक्काइसौं शताब्दीका युवाहरुले परिवर्तन का खातिर आडम्बरी विचार बोकेका राजनैतिक दलहरु र तिनको नेतृत्व गर्ने नेता भन्दा स्वतन्त्र व्यक्तिलाई नेतृत्व मा विश्वास गर्न बाध्य भएका छन्। हर्क, बालेन र हमाल त मात्र एक संकेत हो। युगको परिवर्तनका लागि युवाहरु तथा नेपाली आम नागरिक विस्फोटक बनेर नयाँ कृष्ण र अर्जुन पनि जन्माउन सक्छन् भन्ने सन्देश दिन चाहन्छन्।

एक्काइसौं शताब्दीका युवाको चाहना बुझेर समयमै यसको निराकरण गर्न तर्फ लाग्न नसकेमा अब का केहि वर्षपछि राजनैतिक सिद्धान्त र बिचार बोकेका दलीय मूल्यमान्यता इतिहासको पानामा डाइनोसरको रुपमा भावि पिढीले अध्ययन गर्नुपर्ने अवस्था सिर्जना हुने प्रष्ट देखिन्छ।

✍️  कृष्ण अधिकारी
बर्दघाट-१०,नवलपरासी