kalika

परासीमा जेसीजको बहुशाखा तालिम सम्पन्न

50

परासी, २२ साउन

लुम्बिनी प्रदेशका आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले प्रदेश संरचना खारेजको कुरा उठ्नु गलत भएको बताउनुभएको छ । संघीय सरकारले भन्दा प्रदेश सरकारले धेरै राम्रा कामहरू गरिरहेको उहाँले दाबी गर्नुभयो ।

पश्चिम नवलपरासीमा रहेका जेसीज शाखाहरु रामग्राम जेसीज, रामग्राम महिला जेसीज, सुनवल जेसीज,रामनगर जेसीज र बर्दघाट जेसीजको संयुक्त आयोजना र नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीको संयोजनमा शनिबार परासीमा आयोजित एक्ट फर ईम्प्याक्ट विषयक राष्ट्रिय स्तरको एक दिने बहुशाखा तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो ।

उहाँले नेपालमा आवश्यकताले संघीयता आएको बताउँदै संबिधानमा सुनिश्चित गरिएका तीनै तहका सरकारको भूमिका अनुसार अघि बढ्न सके सुन्दर र समृद्ध मुलुक बन्ने दाबी गर्नुभयो । जेसीजमा आबद्ध युवाहरूले त्यसको लागि सकारात्मक भूमिका खेल्नुपर्ने मन्त्री शर्माले जोड दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारले संघीय सरकारको तुलनामा धेरै पुँजीगत खर्च गर्न सफल भएको बताउनुभयो । चालु आर्थिक वर्षको बजेटमा पनि ३६ प्रतिशत मात्रै चालू खर्च बिनियोजन गरि अन्य रकम पुँजीगत तर्फ बिनियोजन गरिएको उहाँको भनाइ थियो ।नजिकको सरकार भएकोले नै यो सम्भव भएको उहाँले बताउनुभयो । मन्त्री शर्माले समाजलाई सही दिशा तर्फ अघि बढाउन जेसीजको अहम भूमिका रहेको उल्लेख गर्दै युवा जोश जाँगरले नै समाज रुपान्तरण गर्न सक्ने बताउनुभयो ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरीले जिल्ला भित्र क्रियाशील जेसीज शाखाको दीगो व्यवस्थापन र शाखाका पदाधिकारीको क्षमता वृद्धिमा यश तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो । उहाँले आफू राष्ट्रिय पदाधिकारीको उम्मेदवार रहेको बेला गरेको प्रतिबद्धता अनुसार नै यो तालिम आयोजना गरेको बताउनुभयो ।

रामग्राम जेसीजका अध्यक्ष अनिल कुमार उपाध्याय,रामग्राम महिला जेसीजकि अध्यक्ष अनिता दवाडी तिवारी,सुनवल जेसीजका अध्यक्ष जमुना थापा,रामनगर जेसीजका अध्यक्ष जयराम बस्याल र बर्दघाट जेसीजका अध्यक्ष दिनेश न्यौपानेको संयुक्त अध्यक्षता तथा मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा, नेपाल जेसीज क्षेत्र घ का तालिम संयोजक वीर सिंह महरा, सहभागी प्रशिक्षार्थीको तर्फबाट बर्दघाट जेसीजका युवराज चापागाईं र रामग्राम महिला जेसीजकि बिमला आचार्य लगायतले तालिमको महत्त्वबारे प्रकाश पार्नु भएको थियो ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको प्रमुख प्रशिक्षण र नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष द्धय सुमनकृष्ण श्रेष्ठ र रबिन पोखरेलको प्रशिक्षण रहेको उक्त तालिममा जेसीज अभियान,जेसीजको उद्देश्य,जेसीजका पदाधिकारीहरुको भूमिका, जेसीज शाखाको दीगोपनाको लागि गर्नुपर्ने कार्य लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियोे ।

तालिमको अवसरमा रामग्राम नगरपालिकाका मेयर धनपत यादव,सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरी र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले युवाले समाजमा सकारात्मक प्रभाव पर्ने कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।स्थानीय सरकारका प्रमुखहरुले समाज रुपान्तरणमा जेसीजसँग सहकार्य गर्न तयार रहेको बताउँदै योजना बनाएर आउन आग्रह गर्नु भएको थियो ।

तालिममा रामग्राम जेसीजका महासचिव बेनी माधव बस्याल, रामग्राम महिला जेसीजकि महासचिव बिनिता खड्का, सुनवल जेसीजका महासचिव विकास आचार्य,रामनगर जेसीजका महासचिव देव भट्टराई र बर्दघाट जेसीजका महासचिव सिसम पाण्डे गणेशले सेसन अनुसार सहजीकरण गर्नुभएको रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिनुभयो ।