गोबिन्द घर्तिै
देवदह,चैत्र –७
देवदह नगरपालिका न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई सम्मान गरेको छ । न्यायिक क्षेत्रमा विशेष भूमिका खेलेको भन्दै मेलमिलाप कर्ताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । देवदह नगरपालिका न्यायिक समितिले नगरमा क्रियाशिल ७३ जना मेलमिलाप कर्ताहरुलाई नगद सहित सम्मान गरेको हो । न्यायिक समिति गठन भएको साढे ४ बर्षको अवधिमा करिव ३ सय ७७ मुद्दा परेकोमा मेलमिलापको माध्यमबाट १ सय ९० मुदा निरुपण गरेको जनाएको छ ।
देवदह नगरपालिकाको न्यायिक समितिमा विभिन्न मुद्दाहरु पर्ने गरेको र सो मुद्दालाई मेलमिलापको माध्यमद्धारा निरुपण गर्ने र नसकिएका मुद्दाहरु अदालत पठाउने गरेको सो अवसरमा जानकारी दिईएको थियो । सो अवसरमा बोल्ने मेलमिलाप कर्ताहरुले कानुनी झन्झटका कारण मेलमिलापमा धेरै चुनौती रहेको बताएका थिए । उनीहरुले केही मुद्दाहरुमा राजनीति हस्तक्षेप भएका कारण विवाद निरुपणमा समस्या हुने गरेको बताएका थिए ।
उनीहरुले देवदह नगरपालिकाको हरेक वडामा वडा कार्यालय निर्माण भएपनि मेलमिलाप कर्ताहरु बसेर आएका मुद्दाहरु हेर्नको लागि उचिव वातावरण नहुदा समस्या हुने गरेको बताएका थिए । सो अवसरमा बोल्दै बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले न्यायिक क्षेत्रमा मेलमिलाप कर्ताहरुले राम्रो काम गरेको बताउनु भयो । उहाले मेलमिलापको माध्यमबाट समाजमा रहेका समस्याहरु समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाले मेलमिलाप कर्ताहरुका कारण देवदह नगरपालिकालाई काम गर्न सहज र सजिलो भएको बताउनु भयो । उहाले मेलमिलापकर्ताहरु कसैको पक्षमा नलागेर मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्नुपर्नेमा जोड दिनु भयो ।
देवदह नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासे, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, वडा अध्यक्ष पदम थापा, कानुनी सल्लाहकार डासीराम पाण्डे, मेलमिलापकर्ताहरु निमकला पुन, रामप्रसाद पौडेल, रुका सापकोटा, डिल्लीराज मरासिनी, माधव रिमाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । न्यायिक समिति सदस्य खैराज शर्माको स्वागत र गंगाप्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।