sunwal

चिसापानी सामुदायिक वन र देवदह मेडिकल कलेजको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न ।

48

कृष्ण ढकाल
बर्दघाट,पुष–११

स्वास्थ्य जाँच गराऔं जीवन बचाऔं भन्ने मुल नाराकासाथ चिसापानी सामुदायिक वन उपभोक्ता समुह ,चिसापानी र देवदह मेडिकल कलेज भलुहीको संयुक्त आयोजनामा आज चिसापानीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आज भएको स्वास्थ्य शिविरमा बर्दघाट नगरपालिका क्षेत्रका २ सय २३ जना स्थानियवासीहरुले निःशुल्क स्वास्थ्य सेवा लिनुका साथै निःशुल्क औषधी समेत प्राप्त गरेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्गले बताउनु भएको छ । स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेज भलुहीका ८ जना विशेषज्ञ डा.हरुले सेवा प्रदान गर्नु भएको थियो ।

स्वास्थ्य शिविरमा छाला तथा यौन रोग विषेशज्ञ डा. विक्रम ज्ञवाली,नसा तथा हाड जोर्नी विषेशज्ञ डा. जयराम शर्मा,मानसिक रोग विषेशज्ञ डा. विक्रम काफ्ले,जनरल फिजिसियन डा.पुजा शाह द्धन्द्ध विषेशज्ञ डा.पुजा भडेल नाक,कान तथा घांटी विषेशज्ञ डा. रियान पाण्डे र स्त्री तथा प्रस्तुति विषेशज्ञ डा. रेशम सुनार लगाएतका विषेशज्ञ डा.हरुले शिविरमा स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुह ,चिसापानीले आफ्ना करिव १ हजार ७ सय ५० जना उपभोक्ताहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गरी देवदह मेडिकल कलेज भलुहीसंग सहकार्य गरेर स्वास्थ्य शिविर संचालन गर्दै आएको चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङ्गले बताउनु भएको छ ।

यस अघि कार्तिक महिनामा सरावल गाउँपालिका वडा नम्वर–५ को गडौरीमा स्वास्थ्य शिविर संचालन गरेर ३ सय ८० जना र मंसीर महिनामा बर्दघाट–१२ जहदामा स्वास्थ्य शिविर संचालन गरेर ३ सय ९० जना स्थानियवासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको चिसापानी सामुदायिक वन उपभोक्ता समुहका कार्यालय सचिव कमल परियारले बताउनु भएको छ ।

आज चिसापानी सामुदायिक वन उपभोक्ता समुहको परिसरमा भएको स्वास्थ्य शिविर समुहका अध्यक्ष होम बहादुर गुरुङ्ग र देवदह मेडिकल कलेज भलुहीका संचालक समितिका अध्यक्ष गोपाल बहादुर पोखरेलको संयुक्त अध्यक्षता तथा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा समुद्घाटन गरीएको थियो ।
शिविर समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख वस्यालले बर्दघाट नगरवासीको स्वास्थको लागि बर्दघाट नगरपालिकाले सक्दो सहयोग गरिराखेको र भोलीका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । शिविर समुद्घाटन कार्यक्रमको चिसापानी सामुदायिक वन उपभोक्ता समुहका सचिव अनिल गुरुङ्गले गर्नु भएको थियो ।