sunwal

भुमहिको जर्गाहमा सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थाले

31

परासी,साउन–२५

नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को जर्गाहमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । नजिकै उपचार केन्द्र सञ्चालन भएर सहज रुपमा उपचार पाउन थालेपछि स्थानीयवासीलाई सुविधा भएको छ ।

प्रहरीयुक्ति तालीम महाविद्यालय सुनवल नगरपालिका—११ जर्गाहले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेपछि उपचारका लागि टाढा जानुपर्ने तथा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको हो । यसअघि यहाँका बिरामी उपचारका लागि बुटवल र भरतपुरसम्म जानुपर्ने बाध्यता थियो ।

दुई दिनअघि सर्पले डसेपछि उपचारका लागि आउनुभएकी स्थानीयवासी गोमादेवी ढकालले यस केन्द्रबाट आफूले सहज रुपमा सेवा पाएको बताए । “हामी पहिला सर्पले टोक्दा टाढा र धेरै खर्च लगाएर उपचारका लागि जानुपर्ने बाध्यता थियो, अहिले जर्गाहमै प्रहरीले उपचार केन्द्र सञ्चालन गरेपछि धेरै सजिलो भएको छ, हामी एकदम खुशी छौँ”, उनले भने ।

सुनवल—१० का लक्ष्मण कार्कीले यस केन्द्रबाट आफूले राम्रो उपचार पाएको बताए । उपचार सेवा प्रभावकारी रहेकाले बुटवल र भरतपुर पुग्नुपर्ने अवस्था अब नभएको उनको भनाइ छ । रुपन्देहीको देवदह—४ बाट आउनुभएकी दुर्गा बस्यालले राम्रो उपचार हुन्छ भन्ने सुनेकाले बुटवल नगइ यहाँ आएको र उपचार पनि राम्रो भएकाले आफू निको भएर फर्कन लागेको बताए ।

यस उपचार केन्द्रमा हाल दैनिक सरदर तीन जनाका दरले सर्पले डसेका बिरामी आउने गरेका उपचार केन्द्रका चिकित्सक डा शिक्षित शेर्पाले बताए । वर्षायामसँगै सर्प बाहिर निस्कने र डस्ने भएकाले यो समयमा धेरै बिरामी आउने गरेको उनले बताए । गत आवमा ५७ पुरुष र ५३ महिला गरी ११० सर्पदंशका र अन्य ३०० बिरामीले सामान्य उपचार सेवा लिएको उनले बताए ।

यहाँ पानी सर्प, गोमन, करेत, कोब्रा सर्पले डसेका बिरामी धेरै आउने गरेका छन् । उपचार सेवा सहज र प्रभावकारी हुँदै आएकाले नवलपरासीसहित चितवन, रुपन्देहीबाट पनि बिरामी उपचारका लागि मान्छे आउने गरेको केन्द्रले जनाएको छ । @ रासस