नेपालकै लोपोन्मुख कोलबृक्षको संरक्षणमा जुटयो सरावल गाउँपालिका
उमेश बि.क
सरावल , १८ असोज
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नेपालकै लोपोन्मुख वृक्ष कोलबृक्ष पाइएपछि गाउँपालिकाकाले यसको संरक्षणमा व्यापक ध्यान दिएको छ । आयुर्वेदिक महत्वले कुष्ठ तथा छाला रोगमा औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षले प्राचिन कोलिय गणराज्यको ईतिहास र महत्व पनि बोकेको छ । सरावल गाउँपालिका २ जावामा रहेको कोलबृक्षको बगैचा नै छ जसको संरक्षणमा सरावल गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।
कोलवृक्षको संरक्षण र यसलाई पर्यटनको रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरि विभिन्न भौतिक पुर्वाधार र सुन्दरीकरणमा काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिनु भयो । कुष्ठ र छालारोगलाई निको पार्न औषधीको रुपमा प्रयोग हुने यस कोलवृक्षको आयुर्वेदिक महत्व बारे गाउँपालिकाले थप अनुसन्धान पनि गरिरहेको छ । यस कोल बगैचाको ईतिहास र महत्वलाई थप उजागर गर्न गाउँपालिकाले बार्षिक कार्ययोजना बनाई अगाडी बढिरहेको छ । करिब १० विगाहा क्षेत्रफलमा फैलिएको उक्त बगैचा नजिकै जावा ताल पनि रहेको छ । यस क्षेत्रको विकासका लागि गाउँपालिकाकाले बगैचाको गेट, फुटवे, बनाएको छ भने सो क्षेत्रलाई चिनाउन बुद्धको स्टैचु राखेको छ ।
उक्त क्षेत्रका विकासका लागि त्यहाँ सभाहल, खेलमैदान, पार्क, तालमा डुङ्गा सफारी, कोलवृक्षको गणना, ध्यानकेन्द्र, बगैचाको सुन्दरीकरण र होम स्टे समेत संचालका कार्यक्रमहरु संचालन गर्ने गाउँपालिकाका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनु भयो ।
स्थानियहरुले यो बगैचा र ताल एतिहासिक र पुरातात्विक क्षेत्र रहेको दावी गर्दै यसको उत्खननका लागि माग पनि गरेका छन् । यो कोलवृक्ष बगैचा क्षेत्र कोलिय गणराज्यको ककरपत्ता नगरनिगम हुन सक्ने स्थानिय जेष्ठनागरीकहरुको अनुमान रहेको छ ।
यस्तो छ कोलबृक्षको प्राचिन ईतिहास
ईसा पुर्व ७ सय बर्षपहिला बनारसका राजा रामलाई कुष्ठ रोग लागेपछि सन्चो हुन उनलाई उनका बैद्यहरुले कोलवृक्षको बगैचामा बस्ने, वृक्षको लेप लगाउने र पात खाने सल्लाह दिएका थिए । बैद्यको सल्लाह अनुसार राजा रामले आफनो केहि नजिकको प्रजा संग उनी कोलबगैचामा आईपुगे र त्यसै कोलवृक्ष मुनी बसोबार गरि वृक्षको लेप लगाए र पात खाएपछि उको कुष्ठ रोग सन्चो भयो ।
रोग सन्चो भएपछि राजा राम घर नफर्कि यसै क्षेत्रमा बसोबास गर्न थाले र यस क्षेत्रको नाम यसै कोल वृक्षको नामले कोलिय गणराज्य नामाकरण गरे । यस कोलिय गणराज्यको सिमा पश्चिममा रोहिणी नदी, उत्तरमा अनोमा घाट (नारायणी नदी), उत्तरमा चुरे पहाड र दक्षिणमा पिपलीबनसम्म फैलिएको थियो । यसलाई शान्तीका अग्रदुत गौतम बुद्धको ईतिहास संग पनि जोडिएको छ । किनभने यसै कोलिय गणराज्यमा गौतम बुद्धको मावली पण्डितपुर, उहाँको अस्तिधातु रहेको रामग्राम स्तुप र उहाँ नुहाएको विभिन्न तालपोखरी र ध्यान गरेको विभिन्न एतिहासिक धार्मिक स्थलहरु व्यापक मात्रामा पाईने स्थानियले बताउने गरेका छन् ।