एकजना विद्वानले भनेका छन्,– ‘सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो, जसले निदाउन नै दिँदैन ।’ नेकपा अध्यक्ष केपी शर्मा ओली वि.सं.२०७२ असोज २४ गते पहिलो पटक नेपालको प्रधानमन्त्री बने । दोस्रोपटक ‘समृद्ध नेपालः सुखी नेपाली’को मूल नारा लिएर ०७४ साल फागुन ३ गतेदेखि उनले मुलुकको शक्तिशाली प्रधानमन्त्रीका रूपमा नेतृत्व सम्हाल्दै आएका छन् ।
प्रधानमन्त्री बनेदेखि नै ओलीले मुलुकको समृद्धि र विकासका तमाम सपनाहरू नागरिकलाई देखाइरहेका छन् । हँसिमजाक र गफको शैलीमा नानाथरी तर्क सुनाएर नेपाल समृद्ध र सुखी बन्न सक्छ भन्ने तथ्य प्रस्तुत गर्दै आएका छन् ।
भारतीय नाकाबन्दीको समयमा पहिलोपटक प्रधानमन्त्री बनेका ओलीले मुलुकमा रेल र पानी जहाज कुदाउने सपना देखाएका थिए । लोडसेडिङ सदाका लागि अन्त्य गर्ने सङ्कल्प गरेका थिए । घरघरमा ग्यासको पाइप पुर्याउने र हावाबाट बिजुली निकाल्नेजस्ता योजना अघि सारेका थिए । तर, त्यतिबेला उनलाई कतिपयले हाँसोको पात्र बनाए, मजाक उडाए । उटपट्याङ् गफ गरेको भन्दै खिल्लीसमेत उडाए । यो प्रवृत्ति अहिलेसम्म जारी छ ।
विकास र समृद्धिका सपना
प्रम बनेदेखि नै केपी ओलीले हाम्रो देश नेपाल भिखारीको देश नभएको तर्क गरिरहेका छन् । कोही भोकै मर्न नपर्ने दाबी गरिरहेका छन् । नेपाल सधैँ गरिब र पिछडिएको हुनुहुँदैन भन्दै देश र नागरिकका मूर्च्छित सपनाहरू बाँडिरहेका छन् । मुलुकको विकास र समृद्धिका असीम आकांक्षालाई मुखरित गरिरहेका छन् । कल्पना र सपनालाई साकार पार्न समृद्धिका विभिन्न योजनाहरू देखाइरहेका छन् ।
मुलुकको समृद्धिका सोच र तर्क अगाडि बढाइरहेका छन् । तर कतिपय मानिसहरू उनका सपना र योजनालाई हावादारी गफ भन्दैछन् । मजाक र ट्रोल बनाएर सामाजिक सञ्जालमा खिसीट्युरी गर्दै छन् । अझ दुखलाग्दो कुरा मुलुकका निर्वाचित र सम्मानित प्रमको स्वास्थ्यका बारेमा समेत नकारात्मक टिप्पणी गरेर ‘मजा’ लिँदैछन् ।
राष्ट्र, राष्ट्रियता र जनताका लागि लामो समयदेखि लडिरहेको अनि विकास र समृद्धिको सपना देखाइरहेको एउटा मुलुकको जननिर्वाचित र सम्मानित प्रधानमन्त्रीमाथिको यो हदसम्मको मजाक, ट्रोल र प्रहार कति स्वाभाविक छ वा आपत्तिजनक ? त्यो त समयले नै विश्लेषण गर्ने छ । निःसन्देह, अहिले यति त भन्न सकिन्छ कि यो प्रवृत्ति नेपाली जनताको दुईतिहाई अभिमतमाथिको हँसीमजाक पक्कै हो । जनताको सार्वभौमिकतामाथिको अतिशय खिसीटिउरी हो ।
ओलीका तर्क र भनाइहरू एकछिनका लागि ठट्टा र रमाइलो लागे पनि, गफ लागे पनि ओली समृद्धि र विकासको एउटा स्वप्नद्रष्टा र आशावादी मार्गदर्शकका रूपमा भने पक्कै देखापरेका छन् । यो इतिहासले मूल्याङ्कन गर्ने विषय हो । समयक्रममा यसको मूल्याङ्कन हुँदै जानेछ ।
‘यो सतीले सरापेको देश हो,यहाँ कुनै पनि राम्रा काम हुन सक्दैनन्, सबै नेता भ्रष्टाचारी छन्, बदमास र राष्ट्रघाती छन्, यहाँ कुनै पनि निर्णय स्वविवेकले हुँदैनन्, सबै नेता र पार्टीहरू विदेशीको इशारामा चल्छन्’ भन्नेजस्ता कुतर्क प्रस्तुत गरेर सबै पार्टी र नेतृत्वप्रति वितृष्णा जगाउने काम एउटा कोणबाट सधैँ भइरहेको हुन्छ हाम्रो मुलुकमा । यस्तो विषम सन्दर्भमा विकास र समृद्धिका सपना बाँडने अनि आम नागरिकका मूर्च्छित सपनाहरूलाई आशातीत जागृत गराउने काममा प्रम केपी ओली निरन्तर लागिरहेका छन् । उनको भूमिकालाई सामान्यरूपमा लिनु हुँदैन । यो अत्यन्तै महत्वपूर्ण भूमिका हो ।
मुलुक आफैं बन्दैन । मुलुकलाई बनाउनुपर्छ । मुलुकलाई बनाउन सही दृष्टिकोण, सार्थक योजना र दह्रो अठोट अपरिहार्य हुन्छ । दृष्टिकोण,योजना र अठोट व्यक्तिले दिन्छ । प्रणालीले त्यसलाई साकार बनाउँछ । तर, त्यो प्रणालीलाई चलाउने व्यक्तिले नै हो । त्यसैले इमानदार र प्रतिबद्ध व्यक्तिहरूको टिमले मात्र देश बनाउन सक्छ । समृद्धि र विकासका लागि सबैभन्दा गतिवान् काम स्वयं नेतृत्वले नै गर्नुपर्छ । जुन काम यतिखेर केपी ओलीले गरेका छन् । यो कुनै एकपक्षीय र भावनात्मक कुरा होइन,यथार्थ हो । वास्तविकता हो ।
प्रम केपी ओली मुलुकमा हमेशा आशा र उत्साह जगाइरहन्छन् । तर सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना गर्ने, खिसीटिउरी गर्ने एक किसिमको प्रवृत्ति नै बढेको छ आजभोलि । केपीले गरेका राम्रा काम केही नदेख्ने,सबै कुरा खराब मात्र देख्ने, जे भने पनि मजाक उडाउने एउटा समूह छ जो सरकारको खेदो जतिबेला पनि खनिरहन्छ । ट्रोल बनाएर मजा लिइरहन्छ । समाजमा नकारात्मकता र निराशा फैलाइरहन्छ । मुलुकको बिडम्बना नै यहीँ हो ।
विनाशकारी भूकम्पले देश रोइरहेको समयमा भारतको ६–६ महिने नाकाबन्दीविरूद्ध नझुकी सामना गर्ने नेपालका हालसम्मकै देशभक्त प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको नाम ऐतिहासिक रूपमा रहनेछ भन्ने कुरा अतिशयोक्ति नहोला ।
सपनालाई साकार पार्ने अभियान
देश बनाउने कुरा एउटा सपना हो । भविष्यको सपना हो । निदाएको बेला देख्ने सपनाको कुरा होइन । जागै हुँदा देख्ने सपना हो । जुन सपना केपी ओलीले देखाएका छन् । उनी सपनालाई साकार बनाउने अभियानमा दृढ छन् ।
प्रशंसाभन्दा आलोचना भए पनि ओली सरकारले दीर्घकालीन महत्वका केही राम्रा काम गरेको यसरी ढुक्कसँग भन्न सकिन्छ :
आफ्नो कुर्सी जाने भयका कारण सीमा मिचिँदासमेत नेपालका सरकार र प्रधानमन्त्रीहरू भारतसँग खुलेर कुरा राख्न नसक्ने विगतको यथार्थगत परिस्थितिमा कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने काम ऐतिहासिक र महत्वपूर्ण उपलब्धी होइन भनेर कसले भन्न सक्छ ?
चिनियाँ चुच्चे रेलदेखि प्रशान्त महासागरमा नेपाली झण्डाजडित पानीजहाज हुँइक्याउनेसम्मका योजनाहरू तत्कालका लागि निदाएको बेला देख्ने सपना जस्तो भए पनि मुलुकको सुदूर भविष्यका लागि यी अपरिहार्य कुराहरू हुनेछन् । सिलिन्डर बोकेर सडकमा दौडने युगको अन्त्य हुनुपर्ने,‘स्विच अन’ गर्नासाथ पाइपबाट घरमै ग्यास आउने महत्वाकांक्षी योजना आम नागरिकका वर्तमानदेखि भविष्यका चाहना हुन् । यो हाम्रो आवश्यकता पनि हो । अनावश्यक गफचाहिँ होइन ।
योगदानमा आधारित समाजिक सुरक्षा योजना ल्याउनेदेखि साना किसानको ऋण मिनाहासम्मका काम नेपालको ऐतिहासिक उल्लेख्य कामहरू हुन् । पक्कै पनि यो इतिहासले प्रष्ट पार्नेछ । मदार,रोजगारदाता र सरकारको योगदानका कारण श्रम गरेको व्यक्तिले ६५ वर्षपछि पेन्सन पाउने व्यवस्था वास्तवमा श्रम क्षेत्रमा ‘नयाँ युगको शुरूआत’ नै हो । सामाजिक सुरक्षा कार्यक्रमलाई २०५१ सालमा कम्युनिस्ट सरकारले ल्याएको वृद्ध भत्तापछिकै लोकप्रिय कार्यक्रम हो भनी ढुक्कसँग भन्न सकिन्छ ।
ओलीले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रूपमाले लिने गरिएको भए पनि अहिले काम भइरहेको छ । परिणाम आइरहेको छ पूर्व–पश्चिम रेलका कुरा उत्तर दक्षिण रेलका कुरा र पानी जहाजका कुरा राष्ट्रको अति आवश्यकताको कुरा हो । यो गफ होइन, मुलुकलाई समृद्धितिर लैजाने एउटा सपना हो, मार्गदर्शन हो, अपरिहार्य आवश्यकता हो । ओलीले प्रधानमन्त्रीका रूपमा कुर्सीमा बस्नासाथ देशका सबै नदीलाई तुइनमुक्त बनाउने पहिलो निर्णय गरेका थिए । सो काम सम्पन्न भइसकेको छ ।
राजनीतिक खिचातानीका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण र धरहराको पुनर्निर्माणले तीब्र गति लिएको छ । पूरा हुँदैछ । तराईमा पृथकतावादी राजनीति गरिरहेको सीके राउतको स्वतन्त्र मधेशी गठबन्धनलाई राजनीतिको मूलधारमा ल्याउनु पनि महत्वपूर्ण राजनीतिक उपलब्धि नै हो ।शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सुन तस्करीमा ब्रेक, चीनसँग पारवाहन सम्झौता, सुरूङमार्ग र सडक विस्तारलगायतका कार्यक्रमहरू समृद्धि र विकासका सपना साकार पार्ने योजनाकै रूपमा लिन सकिन्छ ।
सपना तुहिने त हैन ?
प्रम केपी आलीले मुलुकमा सुशासन, समृद्धि र विकासका सपना त बाँडेकै छन् तर कतिपय सवालमा उनका सपनाको यथार्थ र व्यवहारबीच तारतम्य देखिँदैन । राजनीतिक दलसम्बन्धी अध्यादेश, गुठी विधेयक, सिण्डीकेट खारेजीजस्ता आवेग र हतारमा गरिएका निर्णयले ओलीका सपनालाई बिथोलेकै छन् । निर्मला हत्याकाण्ड ,बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड अनि विभिन्न आर्थिक कमिसन र भ्रष्टाचारका विषयमा नजरअन्दाजी र कारबाही ढिलाइले समृद्धि,विकास र सुशासनको ओलीको सपना र आकांक्षा कतै तुहिने त होइन भन्ने आशंका भने बढेकै छ ।
असल नेतृत्वले जहिले पनि सपना देख्नुपर्छ,आशा जगाइरहनुपर्छ । सपना नदेख्ने त नेता नै हुँदैन । ओली सपना र कल्पनाशीलताका त धनी नै छन् । समृद्ध नेपाल, सुखी नेपालीको सपना उनले देखेको सपना हो । सपना र गफै भए पनि ओलीले एउटा आशा भने जगाइरहेका छन् । त्यसो त एक दुई वर्षमै वा एकैपल्ट देश कायापलट भइहाल्ने होइन । सरकारले बाँडेको समृद्धिको सपना पनि रातारात पूरा भइहाल्दैन । समृद्धि एउटा अठोट हो, निरन्तर प्रक्रिया हो । तर कोरोना महामारीको संकटले समृद्धि र विकासका तमाम यात्रालाई ठप्प पारिदिएको छ । कोरोना महामारी सरकारको भयानक चुनौती बनेको छ ।
सल्लाहकार : ‘मुखाले’ तर गतिवान् योजनाकार
प्रम ओलीसँग यतिखेर जुन सल्लाहकारको टिम छ उनीहरू विषयगतरूपमा अति दक्ष र योग्य छन् तर आम नागरिकले उनीहरूको शैलीलाई सहजरूपमा पचाउन सकिरहेका छैनन् । सरकारका भूतपूर्व प्रवक्ता गोकुल बास्कोटाको अभिव्यक्ति शैली आम नागरिकले मन नपराएकै हो ।
प्रमुख सल्लाहकार विष्णु रिमाल एउटा गतिवान् योजनाकार र रणनीतिक व्यक्तित्व हुन् । प्रेस सल्लाहकार सूर्य थापा विषयगतरूपमा त्यतिकै दक्ष र योग्य दक्ष मानिन्छन् । प्रमका सपना पनि सल्लाहकारका योजना नै होलान् तर रिमाल र थापाका ‘मुखाले’ प्रवृत्तिका कारण सामाजिक सञ्जाल तातेकै हुन्छ ।आम नागरिकको सोच अनि शैली र सल्लाहकारका शैलीबीच तारतम्य मिल्न सकेको देखिदैन । यता सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवाली शालीन र भद्र व्यक्तित्व मानिएका छन् । आर्थिक सल्लाहकार युवराज खतिवडाको विषयगत दक्षताले प्रमका समृद्धिका सपनालाई कसरी सार्थक बनाउँछ ? त्योे हेर्न त बाँकी नै छ ।
सरकारको सफलतामै नेकपाको भविष्य
प्रधानमन्त्री केपी शर्मा ओली सत्तासीन पार्टीका शक्तिशाली अध्यक्ष हुन् र पाँच वर्षसम्मका लागि पार्टीबाट तोकिएका सरकारका शक्तिशाली प्रधानमन्त्री पनि । सरकारको सफलता र असफलताको असर ओलीलाई मात्रै होइन, सिङ्गो नेकपालाई प्रत्यक्षरूपमा पर्दछ । प्रमको सम्पूर्ण कामहरूको जसअपजसको भागिदार अन्ततः पार्टी नै हुनुपर्छ । उनी असफल हुँदाको प्रत्यक्ष नकारात्मक असर सिङ्गो पार्टीको भविष्यमाथि स्वतः पर्छ नै ।
यतिखेर पार्टीको सिङ्गो पङ्क्ति सरकारका राम्रा कामको प्रचारप्रसार अनि सरकारलाई नराम्रा काम गर्नबाट रोक्नुपर्नेमा पूर्णरूपमा त्यसो हुन सकेको छैन । केपी ओली र सरकार सफल नभए नेकपा पार्टी लोकप्रिय बन्दैन बरू जनताको नजरमा बदनाम हुनेछ । तसर्थ केपी ओलीका समृद्धिका सपनाहरूलाई साकार बनाउने र सरकारका राम्रा कामलाई आम नागरिकका बीचमा पुर्याएमात्र नेकपा पार्टी लोकप्रिय हुनेछ,बलियो हुने छ । नेकपा पार्टी पङ्क्तिले बुझ्नुपर्ने यही कुरा हो ।
अतः सपना नदेखी मुलुक बन्दैन । गफै भए पनि ओलीले मुलुकको विकास र समृद्धिको एउटा आशा जगाएका छन् । समृद्ध नेपाल, सुखी नेपालीको सपना उनले देखेको सपना हो । राष्ट्रका तमाम विकृति, भ्रष्टाचार र अनियमिततालाई समाप्त पार्दै उनको त्यो सपनालाई साकार पार्नु नै मुलुकको हितमा हुनेछ । यसका लागि दबावमूलक अभियानको खाँचो छ ।
✍️ हरि ज्ञवाली रुपन्देहीको शैक्षिक क्षेत्रमा आवद्ध हुनुहुन्छ