परासी, ८ असोज
मदरबाबा मेला सञ्चालन गर्दै आएको कुतबुल मदारशाह दरगाह कमिटी सुस्ता–२नवलपरासीले कोरोना संक्रमित, अपाङ्गता भएका, गरीब,असहाय तथा विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
कमिटीको आज परासीमा बसेको बैठकले उक्त निर्णय गरेको कमिटीका संरक्षक पिठाधिस अमिरुल्लाह अन्सारीले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा विगत पाँच महीना देखि कमिटीेले एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट विपन्न नागरिकको अकालमा ज्यान गुमाउने परिस्थिती नआओस भन्नका लागि आफूहरुले ती वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको सल्लाहकार बुद्धनअलिले बताउनुभयो ।