sunwal

तिलोत्तमा लगानी सम्मेलन प्रतिबद्धता,नोबेलले थाल्यो उद्योग निर्माणको काम ।

21

वि.पि. गौतम
तिलोत्तमा, मंसिर २१

गत असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लाष्ट प्रा.लि.ले उद्योग निर्माणको काम सुरु गरेको छ । लगानी प्रतिबद्धताअनुसार नोबेलले तिलोत्तमा—१७, गंगोलियामा ११ करोड लगानी गर्नेगरी उद्योग निर्माणको काम अघि बढाएको हो । कुल १२ कठ्ठा जमिन रहेको उद्योगले एक वर्षभित्रै उत्पादन थाल्ने बताइएको छ । उद्योगमा भोजराज जिसी, डिलाकुमारी बगाले र नन्दीकेशर ढकालको संयुक्त लगानी छ ।
उद्योगले वातावरण प्रदुषण गर्ने प्लाष्टिकको पाउच लगायतलाई विस्थापित गर्ने विभिन्न सामानका साथै पुनः प्रयोग हुने रंगका बाल्टिन, फर्निचर, घरयासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने प्रबन्ध सञ्चालक भोजराज जिसीले जानकारी दिनुभयो । कम्पनी सञ्चालनको पहिलो वर्ष ७२० टन प्लाष्टिकका पुनः प्रयोग हुने सामान उत्पादन गरी विक्री गर्ने लक्ष्य लगानीकर्ताहरुले राखेका छन् । उद्योगमा कम्तिमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र ५०० जना व्यक्तिहरु अप्रत्यक्ष रुपमा लाभान्वित हुने उद्योगका सञ्चालक नन्दीकेशर ढकालले जानकारी दिनुभयो । लगानी सम्मेलनको प्रभावले आफूहरु उद्योग स्थापना गर्ने चरणमा पुगेको बताउँदै उहाँले औद्योगिक वातावरण निर्माण गरेकोमा नगरपालिका नेतृत्वको प्रशंसा गर्नुभयो । उद्योगका उत्पादनले वातावरण प्रदुषण नगराउने बरु वातावरण प्रदुषण गर्ने प्लाष्टिक झोलालाई विस्थापित गराउने प्रबन्ध सञ्चालक जिसीले प्रष्टाउनुभयो । कम्पनीमा स्थानीय व्यक्तिहरुलाई नै रोजगारीका लागि प्राथमिकता दिइने लगानीकर्ताहरुको भनाइ छ । शनिबार उद्योग शिलन्यास गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुसार अरु लगानीकर्ताहरुले पनि परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । सम्मेलनपछि तिलोत्तमामा नयाँ लगानीकर्ताहरु थपिने क्रम बढेको बताउँदै उहाँले नगरपालिकाले मापदण्ड निर्माण गरी नगरपालिकामा बन्ने परियोजनाका लागि सडक, विद्युत्, पानीलगायतका पूर्वाधारमा सहजीकरण गर्ने बताउनुभयो । तिलोत्तमा औद्योगिक ग्रामको डिपिआर अघि बढेको जानकारी गराउँदै उहाँले लगानी सुरक्षाका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । शिलन्यास कार्यक्रममा तिलोत्तमा नगर उप—प्रमुख जागेश्वरी चौधरी, वडाध्यक्ष दानबहादुर चौधरी, प्रेस सल्लाहकार बीपी गौतमलगायतका जनप्रतिनिधिहरुका साथै उद्योगी, व्यवसायी, बैंकर्सलगायतको सहभागिता रहेको थियो । सहभागीहरुले मुलुकको तीव्रतर आर्थिक विकासका लागि औद्योगिककरणमा जोड दिएका थिए ।